गौरादह, १० जेठ । गौरादह नगर खेलकुद विकाश वडा समितिले प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गौरादह नगरपालिका वडा नं. १, २ र ३ का वडा खेलकुद विकाश समितिले जेठ १३ गते बाट खेल शुरु गरि १५ गते समापन गर्ने खेल संयोजक पुन्य प्रसाद सिग्देलले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
प्रदेश नं. १ भित्रका ब्याडमिन्टन खेलाडीहरु सहभागी हुने भएकाले ७ टिमले सहभागिता जनाइसकेको र २० भन्दा बढी टिमको सहभागीता हुन सक्ने प्रारम्भिक अनुमान रहेको संयोजक सिग्देलले बताए ।
अतिथि सदनमा सञ्चालन गरिने खेलका लागी ३ वटा वडा कार्यालयबाट १ लाख ५० हजार विनियोजित भएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराए । युवाहरुमा अनुशासनको विकास गर्दै नगरपालिका भित्रका खेलपे्रमीहरुमा खेलको विकाश गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको ब्याडमिन्टन खेलमा १ टिममा २ जना खेलाडी रहने जनाइएको छ । दमक र गौरादह नगरपालिका का जनप्रतिनिधिहरुको खेल बाट उदघाटन गरिने जनाइएको छ ।
खेलाडीहरुलाई खेल अवधिमा खाजा र ड्रेसको व्यवस्था हुनुका साथै विजेता टिमले नगद ४१ ह्जार , उपविजेताले ३१ ह्जार र तेस्रो हुने टिमले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने संयोजक सिग्देलले जानकारी गराए । वडा कार्यालयबाट प्राप्त रकम अपुग हुने भएकाले आर्थीक संकलन गर्न स्रोतको खोजी भइरहेको र सुनचाँदी व्यवसायी सोम सिलवाल बाट प्रथम पुरस्कार १० हजार बराबरको ट्रफि, मेडल र प्रमाणपत्र र फेवा ल्युब प्रलिले तेस्रो पुरस्कारको व्यवस्था गरेको जानकारी गराइएको छ ।






