काठमाडौं, १३ मंसिर २०८३ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाई लागूऔषध कोकेनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठमेलस्थित एक होटलबाट ३ किलो कोकेनसहित दक्षिण कोरियाली र भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दक्षिण कोरियाली नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम वाघमारे रहेका छन्। प्रहरीले गत मंसिर ११ गते होटलको कोठामा ह्यान्ड ब्यागेजभित्र ुफल्स बटमुबनाई लुकाएर राखेको अवस्थामा उक्त कोकेन बरामद गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा कोरियाली नागरिक लीले दक्षिण अमेरिकी मुलुक पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै गत मङ्सिर १० गते उक्त कोकेन काठमाडौँ ल्याइपुर्याएको खुलेको छ। काठमाडौँ आइपुगेपछि भारतीय नागरिक वाघमारे उक्त कोकेन रिसिभ गरी भारतको मुम्बई लैजाने तयारीमा रहेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स’प्रहरीको परिचयपत्र समेत फेला परेको छ। सुटकेस साटासाट गर्ने क्रममा दुवैजनाले गोप्य पासवर्डप्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
८७ वर्षीय कोरियन नागरिक ली यसअघि पनि १९ जुलाई २०२६ मा नेपाल आएर ३ दिन ठमेलस्थित होटलमा बसेर पुनः कोरिया फर्किएको अध्यागमन रेकर्डबाट देखिएको छ। प्रहरीले उनीहरूको साथबाट ३ केजी कोकेनसहित १ थान पासपोर्ट, १ थान आधारकार्ड र २ थान मोबाइल बरामद गरेको छ।
अवैध बजारमा प्रतिग्राम ५० हजार रुपैयाँका दरले बरामद कोकेनको मूल्य करिब १५ करोड रुपैयाँ पर्न आउने ब्यूरोले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।






