काठमाडौं, १३ मंसिर २०८३ । अमेरिकाको लस एन्जलसको तटीय क्षेत्रनजिक शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ । यसको प्रभाव लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ ।
भूकम्पका कारण विमानस्थलमा एउटा विमानको अवतरण रोक्नुपरेको थियो । टर्मिनलभित्रका सिसा फुटेका थिए । भूकम्पपछि ४० भन्दा बढी परकम्प पनि मापन गरिएको सीएनएनले जनाएको छ ।
भूकम्पका बेला उक्त विमानस्थलमा डेल्टा एयरलाइन्सको एउटा विमानलाई अवतरण गर्ने क्रममा पुनः आकाशतर्फ उडाउनुपरेको थियो । विमान अवतरण गर्न नसकेपछि गरिएको यस्तो प्रक्रियालाई ‘गो–अराउन्ड’ भनिन्छ ।
विमानस्थलभित्र रहेका यात्रुले केही समय टेबलमुनि आश्रय लिएका थिए । त्यसक्रममा छतका टायल र धुलो खसेको सीएनएनले जनाएको छ ।
विमानस्थलका अधिकारीले भवनहरूको निरीक्षण जारी रहेको बताएका छन् । धावनमार्गको जाँच गर्दा कुनै समस्या फेला परेको छैन । उडानको नियमित तालिकामा पनि असर नपरेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पको झट्कापछि मानिस घर र पसलबाट बाहिर निस्किएका थिए । तटीय क्षेत्रका बासिन्दा र किनमेल गरिरहेका मानिस पनि आत्तिँदै सुरक्षित स्थानतर्फ भागेका थिए ।
स्थानीय अधिकारीले हालसम्म कुनै पनि ठूलो भवनमा क्षति पुगेको जानकारी दिएका छैनन् । मानवीय क्षतिको विवरण पनि सार्वजनिक भएको छैन ।
मुख्य भूकम्प स्थानीय समयानुसार बिहान ९ बजेर ३० मिनेटमा गएको थियो । यसको केन्द्रविन्दु म्यानहट्टन बिचबाट करिब ३।७ माइल पश्चिम–दक्षिणपश्चिममा थियो । भूकम्प जमिनको सतहबाट करिब ७।६ माइल गहिराइमा गएको थियो ।
दक्षिणी क्यालिफोर्नियामा भूकम्प जानु सामान्य भए पनि यसपटकको कम्पन निकै तीव्र थियो । यसले स्थानीय बासिन्दा र पर्यटकलाई समेत त्रसित बनाएको थियो ।
क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका भूकम्प वैज्ञानिकले मुख्य धक्कापछि कम्तीमा ४० परकम्प रेकर्ड गरेका छन् । अधिकारीहरूले अबका केही दिनसम्म थप परकम्प आउन सक्ने चेतावनी दिएका सीएनएनले जनाएको छ ।






