भद्रपुर, ४ मंसिर २०८३ । झापामा रगतको माग बढ्दै गए पनि सोहीअनुसार सङ्कलन हुन नसक्दा आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन चुनौती बढ्दै गएको छ ।
रेडक्रसकर्मी तथा सामाजिक अभियन्ता विष्णु आचार्यका अनुसार जिल्लामा दैनिक १२० युनिटसम्म रगत खपत हुने गरेको छ । तर, रक्तदान गर्नेको सङ्ख्या अपेक्षित रूपमा नबढ्दा बिरामीका आफन्तले रक्तदाता खोज्न सास्ती व्यहोर्नुपरेको छ ।
“रगत माग्ने धेरै छन्, तर रगत दिन तयार हुने मानिस भेट्न मुस्किल छ”, आचार्यले भने, “रक्तदान गर्नुपर्छ भन्ने चेतना समाजमा अझै पर्याप्त विकास हुन सकेको छैन । जसले गर्दा रगतको अभाव चुलिँदो छ ।”
पूर्वी पहाडी जिल्लाबाट समेत उपचारका लागि झापाका अस्पतालमा आउने बिरामीका आफन्तलाई रक्तदाता खोज्न थप कठिनाइ हुने गरेको उनको भनाइ छ ।
आचार्यले रक्तदानको महत्त्वबारे सर्वसाधारणलाई सचेत गराउँदै नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय तह, सामाजिक सङ्घसंस्था, सहकारी, शैक्षिक संस्था तथा व्यावसायिक प्रतिष्ठानलाई नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।
विशेषगरी जाडो मौसममा रक्तदान कार्यक्रम कम हुन सक्ने भएकाले सम्भावित अभाव न्यूनीकरण गर्न अहिलेदेखि नै अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।रासस






