Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

झापा, ४ मंसिर २०८३ । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ वटा घटना भएका छन्। ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भदौ, असोज र कात्तिक महिनामा आगलागीका घटनाबाट जिल्लामा १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दसैं–तिहार भएको कात्तिक महिनामा मात्रै २६ वटा आगलागीघका टनाबाट मात्रै ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। कात्तिकमा भएका आगलागीबाट दुई जनाको मृत्यु भएको छ।

गत असोज ३० गते अर्जुनधारा नगरपालिका–९ की ८३ वर्षीया कालिकादेवी तिम्सिना फोहोर जलाउने क्रममा गम्भीर घाइते भएकी थिइन्। उनलाई बीएण्डसी अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा कात्तिक २ गते मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, कात्तिक ५ गते बिहान ४ बजेर १० मिनेटमा बिर्तामोड नगरपालिका–२ रामचोकस्थित रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको थियो। विद्युत् सर्ट भएर लागेको आगोमा परी गौरीगञ्ज गाउँपालिका–२ निवासी तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, असोज महिनामा आगलागीका १२ वटा घटना हुँदा १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको थियो। भदौ महिनामा सात वटा आगलागीका घटना भएका थिए। ती घटनाबाट १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया