Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, २ मंसिर २०८३ । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।

चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको अविजित शतकमा मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

२०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको काठमान्डुले पूरै २० ओभर ब्याटिङ गरेपनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले अविजित ३० रन जोडे । सहान अराचिगेले १३ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे । रासिद खानले १२ रन बनाए ।

ओपनर साहिल पटेल दोस्रो ओभरमै व्यक्तिगत २ रनमा आउट भए । त्यसपछि विलियम बोसिस्टोले अर्का ओपनर साम हिजलेटसँग २५ रनको साझेदारी गरे । तर हिजलेट पनि पाँचौ ओभरमा व्यक्तिगत ३ रनमै आउट हुँदा काठमान्डुले ३० रनमा २ विकेट गुमायो ।

त्यसपछि बोसिस्टोले रासिद खानलसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । बोसिस्टो, रासिद खान र सहान अरागिचेको विकेट गुमेपछि काठमान्डुले ९२ रनमा ६ विकेट गुमायो ।

सुरुमै विकेट गुमाएको काठमान्डुले कुनै पनि विकेटका लागि ठूलो साझेदारी गर्न सकेन र अलआउट भयो । कप्तान करण केसी र जहानदाद खान समान १ रनमा आउट भए । सोनु देवकोटाले ६ र सन्तोष यादव १० रनमा आउट भए ।

दशौँ नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले १७ बल खेल्दै ३ छक्का मदतमा अविजित ३० रन बनाए ।

चितवनका लागि बलिङमा रिजन ढकालले शानदार बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल र सलाउद्दिन खानले १-१ विकेट लिए ।

मिशाराको शतक, चितवनको २०० रन

चितवनका लागि एनपीएलमा अहिलेसम्मकै उच्च स्कोर बनाउने कमिल मिशाराले अविजित १२० रन बनाए । यसअघि चितवनले यसै सिजन लिग चरणमा काठमान्डुविरुद्ध बनाएको १७० रन टिमको उच्च स्कोर थियो । उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो ।

मिशाराले करियरको तेस्रो टी२० शतक बनाउने क्रममा अविजित १२० रन बनाए । उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरे । यस्तै रवि बोपाराले ५३ रन जोडे ।

यस सिजन कुनै पनि टिमले २०० रन भन्दा माथिको योगफल बनाएको यो तेस्रो पटक हो । यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमान्डुविरुद्ध नै २२४ रन बनाएको थियो ।

पहिलो विकेटका लागि मिशाराले देव खनालसँग २२ रनको साझेदारी गरेका थिए । तर चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल र डाविड मालानलाई लगातार आउट गरेपछि चितवन २२-२ को स्थितीमा पुगेको थियो । देवले १५ बल खेल्दै २ चौका र १ छक्का मदतमा १७ रन बनाए । मालान पहिलो बलमै क्याचआउट भएका थिए ।

त्यसपछि मिशाराले कप्तान रवि बोपारासँग मिलेर तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यो जोडीले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे । एनपीएलमा चितवनको यो अहिलेसम्मको उच्च साझेदारी हो भने समग्रमा तेस्रो ठूलो साझेदारी हो ।

१९औं ओभरको तेस्रो बलमा काठमान्डुका रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी तोडेका थिए ।

बोपाराले यस सिजन एनपीएलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले ४२ बलमा ३ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । त्यसपछि विवेक यादवले ३ बल खेल्दै २ चौका मद्दतमा ८ रन बनाएर आउट भए ।

काठमान्डुका कप्तान करण केसी र रासिद खानले २-२ विकेट लिए ।

 

तपाईको प्रतिक्रिया