काठमाडौं, २ कार्तिक २०८३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिई उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर तथा पूर्वमन्त्री रामेश्वर राय यादवलगायत छन् ।
पक्राउ पर्ने अन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सह-सचिव) उमेश ढुंगाना, राजिव पोखरेल, सोही महाशाखाका तत्कालीन कानुन अधिकृत (उप-सचिव) निर्मला गुरुङ रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई प्रतिवादी कैलाश खड्कासमेत भएको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा सीआईबीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्न आएको सीआईबीले जनाएको छ ।
अनुसन्धानका क्रममा मलेसिया जाने श्रमिकहरूसँग गैरकानुनी रूपमा ठगी गरी अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार (८० दशमलव ८० गरी जम्मा रु. १ अर्ब ६९ करोड दुई लाख २४ हजार २६ दशमलव ७६ संकलन गरिएको पाइएको सीआईबीले जनाएको छ ।
संगठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्यविपरीत श्रमिकहरूलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसी, कानुनी उपचार नगरी वा नगराई सो गैरकानुनी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
”प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगी सम्बन्धी कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता (MoU) को विपरित हुने गरी गैर कानूनी रुपमा ठगी गरी संकलन गरिएको रकम मध्ये USD ८३,७०,४३९.९२ र GBP ३७,१७,९८०.८० गरी हुने जम्मा रकम रू. १,६९,०२,२४,०२६.७६ सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र प्रतिकुल (मुद्रा संचितीकरणमा नोक्सानी) हुने निर्णय गरी संगठित समूहको लाभको लागि जानी जानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरुलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन रही कानुनी उपचार नगरी/नगराई गैरकानुनी रुपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा संलग्नू रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।






