Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौँ, २० असोज २०८३ । विभिन्न देशमा आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीमा पठाइदिने बहानामा रकम ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चार जनालाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा–७ बस्ने ३३ वर्षीय कविराज चौलागाईं, सुनसरीको इनरुवा नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ–१२ बस्ने ३४ वर्षीय गोपाल भण्डारी, अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने २९ वर्षीय गोविन्द घिमिरे र उदयपुरको बेलका नगरपालिका–३ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने २८ वर्षीय रुपेश माल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका कविराज चौलागाईंले एक जना पीडितलाई इटाली पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई असोज १९ गते काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरिएको हो । यस्तै, मलेसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेका गोपाल भण्डारीलाई पनि सोही दिन काठमाडौँ महानगरपालिका–१० बाट नियन्त्रणमा लिइएको थियो ।

यसैगरी, दुई जना पीडितलाई वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने प्रलोभन देखाएर ६ लाख ४५ हजार रुपैयाँ ठगी गरेका गोविन्द घिमिरेलाई असोज १९ गते ललितपुर महानगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अर्का प्रतिवादी रुपेश मालले भने एक जना पीडितबाट स्वीडेन पठाइदिने भन्दै २ लाख ६० हजार रुपैयाँ असुलेका थिए । उनलाई असोज २० गते ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको छ ।

तपाईको प्रतिक्रिया