काठमाडौं, १५ असोज २०८३ । असोज १ गतेदेखि त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको फाराम खुल्ला छ । त्रिविले काठमाडौंमा गर्दै आएको दीक्षान्त समारोहमा यसपटक सातै प्रदेशमा गर्दै छ ।
२०८२ असार १ देखि २०८३ जेठ ३१ सम्ममा स्नातक,स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिमा विद्यावारिधि ९पीएचडी० पूरा गरेका विद्यार्थीहरूले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
यसपटक त्रिविले विद्यार्थीहरूलाई सुगम हुने गरी वाग्मती, कोसी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ । विद्यार्थीले अनलाइन फाराम भर्दा नै आफू सहभागी हुने केन्द्र छनोट गर्न सक्छन् । एमफिल, पीएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूका लागि वाग्मती प्रदेश केन्द्र तोकिएको छ ।
अघिल्लो वर्ष ८९ हजार विद्यार्थीको ग्रेसलिस्ट पारित भएको थियो । जसमध्ये संकाय अन्तर्गत ७७ हजार २६३,अध्ययन संस्थान अन्तर्गत ११ हजार ९२८ प्रतिशत विद्यार्थी थिए ।
व्यवस्थापन संकायमा ४३ हजार ६१०, शिक्षाशास्त्र संकायमा १६ हजार ४६७ मानविकी तथा सामाजिकशास्त्र संकायमा १४ हजार ८५१ जना विद्यार्थी ग्रेस सूचीमा थिए ।
त्यसैगरी कानुन संकायमा दुई हजार ३३५, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा सात हजार ४६४ , इन्जिनियरिङ अध्ययन संस्थानमा १ हजार ४६३ चिकित्साशास्त्र अध्ययन संस्थानमा दुई हजार २८०, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४७६ जना र वन विज्ञान अध्ययन संस्थानमा २४५, थिए ।
उच्च शिक्षा तहका आधारमा स्नातकमा ७० हजार ५८६ जना, पीजीडीएसमा १३२ जना, स्नातकोत्तरमा १७ हजार ८८२ जना, एमफिलमा ४२३ जना र विद्यावारिधि र डीएम र एमसी एचमा १६८ जनाले अध्ययन पूरा गरेका थिए ।
यस वर्ष करिब ९५ हजार विद्यार्थीको ग्रेसलिस्ट तय भएको छ । अब कति सहभागी हुन्छन्। परीक्षा प्रशासन महाशाखा प्रमुख भोला सिग्देलले भने । तय भएको ग्रेसलिस्टको ५० प्रतिशत भन्दा बढी व्यवस्थापन संकायका विद्यार्थी रहेको परीक्षा प्रशासन महाशाखाका भोला सिग्देलले बताए । “यसपटक प्रदेशमै दीक्षित हुने अवसर रहेकोले सहभागीको संख्या बढ्छ कि भन्ने आकलन छ ।” सिग्देलले भने ।
त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले दीक्षान्त समारोहमा सहभागी हुनु भनेको गाउन, स्काफ र टोपी लगाएर फोटो खिच्नु मात्रै नभएको बताए । “दीक्षान्त समारोहमा सहभागी हुनु उपाधि प्राप्तिका लागि आवश्यक औपचारिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा हो,” उनले भने।
भण्डारीका अनुसार निश्चित समयभित्र उपाधि प्राप्त गर्न योग्य विद्यार्थीलाई सम्बन्धित संकाय वा संस्थानका डिनले कुलपतिसमक्ष प्रस्तुत गर्छन् । डिनले विद्यार्थी उपाधिका लागि योग्य रहेको सिफारिस गरेपछि कुलपतिबाट त्यसलाई स्वीकृत गर्ने प्रक्रिया हुन्छ । त्यसपछि मात्र विद्यार्थीलाई उपाधिका लागि योग्य भएको औपचारिक मान्यता दिइन्छ ।
दीक्षान्त समारोहमा सहभागी विद्यार्थीलाई सम्बन्धित संकायका डिनले कुलपतिसमक्ष प्रस्तुत गर्ने र कुलपतिले स्वीकृति दिएपछि विद्यार्थीले निर्धारित पोसाक अर्थात् गाउन, स्काफ र टोपी लगाउने अनुमति पाउने व्यवस्था रहेको भण्डारीले बताए ।“दीक्षान्त समारोहमा सहभागी हुनु भनेको गाउन मात्रै लगाउनु होइन । निश्चित समयभित्र उपाधि प्राप्त गर्न योग्य भएका विद्यार्थीलाई सम्बन्धित फ्याकल्टी वा इन्स्टिच्युटका डिनले कुलपतिसमक्ष प्रस्तुत गर्नुहुन्छ । कुलपतिबाट स्वीकृति भएपछि उनीहरू उपाधिका लागि योग्य भएको औपचारिक मान्यता पाउँछन्,” उनले भने ।
तर दीक्षान्त समारोहमा उपस्थित हुन नसकेका विद्यार्थीको हकमा भने उनीहरूको उपाधि रोकिँदैन । समारोहमा अनुपस्थित विद्यार्थीलाई पनि उपाधिका लागि योग्य भएको घोषणा गरिने भण्डारीले बताए । उनका अनुसार दीक्षान्तमा उपस्थित नभए पनि विद्यार्थीले आफ्नो उपाधि तथा प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।
त्रिविमा दीक्षान्त समारोहमा सहभागी नभएका विद्यार्थीले पछि आवश्यक प्रक्रिया पूरा गरेर प्रमाणपत्र लिन सक्ने व्यवस्था रहेको उनले बताए । “उहाँहरू पनि उपाधिका लागि योग्य हुनुहुन्छ भनेर घोषणा हुन्छ । दीक्षान्तमा उपस्थित नभए पनि पछि आवेदन दिएर प्रमाणपत्र लिन सक्नुहुन्छ,” भण्डारीले भने ।
दीक्षान्त समारोहमा पाइने प्रमाणपत्रबारे विद्यार्थीमा रहेको अर्को भ्रम पनि हटाउनुपर्ने उनको भनाइ छ । दीक्षान्त समारोहमा सहभागी भएपछि मात्रै ‘ओरिजिनल’ वा आधिकारिक प्रमाणपत्र पाइने भन्ने बुझाइ सही नभएको उनले बताए । उनका अनुसार दीक्षान्तमा सहभागी हुने विद्यार्थीले समारोहका क्रममा प्रमाणपत्र प्राप्त गर्न सक्छन् भने सहभागी हुन नसक्ने विद्यार्थीले पछि आवेदन दिएर प्रमाणपत्र लिन पाउँछन् । आवेदन दिएको करिब पाँच दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था रहेको भण्डारीले बताए ।
यसरी हेर्दा दीक्षान्त समारोह विद्यार्थीको शैक्षिक यात्राको औपचारिक समापन र उपाधि प्रदान गर्ने महत्त्वपूर्ण समारोह भए पनि समारोहमा उपस्थित हुन नसक्दैमा विद्यार्थीले उपाधि वा आधिकारिक प्रमाणपत्रबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको त्रिविले स्पष्ट पारेको छ।बाह्रखरीबाट






