जेबि खड्का
गौरादह, १९ भदौ २०८३ । गौरादहमा संचालन भएको प्रथम महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रोथखोला एफसी वेस्ट बंगाल विजयी भएको छ। रोथखोला एफसी वेस्ट बंगालले फेयर एफसी धरानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।
खेलको पहिलो हाफमा धरानको आत्माघाती गोल मार्फत वेस्ट बंगालले अग्रता लिएको थियो। त्यसको केही समय पछाडि धरानकि यम कुमारी बि.क. ले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन। खेलको दोस्रो हाफमा वेस्ट बंगालकी प्रजिता क्षेत्रीले २ गोल गर्दै खेललाई ३-१ को जित दिलाइन। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोल गर्ने केही अवसरहरु गुमाएका थिए।
फेयर एफसी धरानका खेलाडीहरुको खेल राम्रो भएतापनि फिनिसिङमा चुक्दा पराजित हुन पुगेका हुन। धरानले सुन्दर अवसर पाएपनि गोलमा परिणत नहुदा वेस्ट बंगाल विजयी हुन पुग्यो।
शनिबार धरान लेडिज फुटबल क्लब र राङ्चा फुटबल क्लब केरावारी मोरङ बिच खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले रु. ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा संचालन भएको खेलमा पहिलो दिन कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव विप्लव घोषले कार्यक्रमको उद्घाटन गरेका थिए। आयोजकका अध्यक्ष उज्वल दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष सेखर कडेल, गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी, उपमेयर जलबर्षा राजवंशी, वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। आयोजक युवराज खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रममा उपाध्यक्ष भुमिका भट्टराई र महासचिव सितल अधिकारीले कार्यक्रम संचालन गरेका थिए।






