झापा, ३ भदौ २०८३ । ताप्लेजुङबाट चोरी गरी फरार भएका एक व्यक्ति बिर्तामोड बसपार्कबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका वडा नं ४ फुन्द्रुवा बस्ने वर्ष २६ का मनकुमार थापा रहेका छन् । उनले भदौ १ गते साँझ ५ बजे ताप्लेजुङ सिदिङवा गाउँपालिका-४ साब्लाखु बस्ने नबिन राईको घरबाट ३ तोला सुनको सिक्री र नगद ५० हजार चोरी गरेका थिए । चोरीमा संलग्न भई उनी फरार भएका थिए ।
चोरी गरी थापा फरार भएको भन्ने प्रहरी चौकी साब्लाखु ताप्लेजुङबाट जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक दिपेन राईको नेतृत्वमा टोली खटिएको थियो । सो टोलीले उनलाई खोजतलास गर्ने क्रममा गएराति ८ः२५ बजे अर्जुनधारा वडा न। ११ बसपार्कस्थित सिता होटलको अगाडीबाट पक्राउ गरेको हो ।
उनको साथबाट नगद ११ हजार ८९५ रुपैयाँ ,चाँदीको जस्तो देखिने सिक्री १ थान,सुन जस्तो देखिने सिक्री १ थान,मोबाईल १ थान र घडी १ थान बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






