झापा, १ भदौ २०८३ । सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने दमकका एक व्यक्तिसहित दुईजना काठमाडौमा पक्राउ परेका छन् । गत साउन २७ गते काठमाडौं पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायातमा चढी एक जना व्यक्तिले महिलाले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरी फरार भएका थिए । सो घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र पीसीसीबी सिंहदरबारबाट खटिएको प्रहरी टोलीले साउन २९ गते काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका वडा नं. ६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बस्ने ४३ वर्षीय भविन्द्र वि.क. र सोलुखुम्बु कागेल गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका टिकाथली बस्ने ३१ वर्षीय अजय बस्नेत रहेका छन् ।
उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सिंहदरबार, काठमाडौ पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।






