काठमाडौं, १ भदौ २०८३ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले हाजिर जमानीकम छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न विपक्षीमध्येका जिल्ला प्रहरी परिसर काठमाडौंको नाउँमा परमादेश जारी गरेको हो ।
सर्वोच्चले पत्रकार श्रेष्ठलाई रिहाइको आदेश दिँदै निवास र कार्यालयबाट जफत गरिएका सबै सामान फिर्ता गर्न आदेश दिएको छ ।
श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सुनवाइपछि सर्वोच्चले प्रहरीलाई उक्त आदेश दिएको हो । जफत गरिएका सामानहरू सर्वोच्च अदालतका सहरजिस्ट्रारको रोहबरमा पत्रकार श्रेष्ठकी पत्नी सरस्वतीलाई फिर्ता दिन आदेशमा भनेको छ ।
सर्वोच्चले आदेशमा संविधानअनुसार सञ्चारमाध्यमका सञ्चार सामग्री जफत गर्न र सञ्चारमाध्यम अवरुद्ध गर्न नपाइने आदेशमा स्पष्ट गरेको छ ।






