Online Bichar
सोमबार, भाद्र ०१, २०८३ | Monday, August 17, 2026

काठमाडौं, १ भदौ २०८३ । विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरु चार दिनदेखि ललितपुरको पुल्चोकमा धर्नामा बसेका छन् ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारसित दुर्गा प्रसाईंले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरु काठमाडौं आएका हुन् ।

शुक्रबार काठमाडौं आइपुगेका उनीहरु पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको गेट अगाडि धर्नामा बसेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको तर्फबाट अध्यक्षको भूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र सरकारका तर्फबाट तत्कालीन सूचना सञ्चार प्रविधिमन्त्री जगदिश खरेलले १२ बुँदे सम्झौता गरेका थिए । उक्त सम्झौता २०८२ माघ २ गते भएको थियो ।

सोही सम्झौता कार्यान्वयनका लागि दबाब दिन लघुवित्त पीडितहरु काठमाडौं आएका थिए । मध्य बर्खामा उनीहरु पानी पर्दासमेत निरन्तर धर्नामा छन् ।

खरेल र प्रसाईंबीच त्यो बेला साना बचतकर्ता र ऋणीहरूको हकमा यही असारदेखि १ लाख रुपैयाँसम्म फिर्ता गराउन सरकारले राष्ट्रिय सहकारी प्राधिकरणलाई ऋण दिएर ‘चक्रवर्ती कोष’ स्थापना गर्नेदेखि बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्दा ऋणीबाट भविष्यको मिति राखेर चेक लिन नपाउने व्यवस्था कडाइ गर्नु पर्ने लगायतका १२ बुँदामा सम्झौता भएको थियो ।

तर, उक्त सम्झौता कार्यन्यवन नभएपछि उनीहरु धर्नामा बसेका छन् ।

पहिलो दिन दुर्गा प्रसाईंले पीडितहरुलाई भेट गरे पनि पछिल्लो तीन दिनदेखि भने लघुवित्त पीडितको धर्नामा प्रसाईं उपस्थित हुन पाएका छैनन् ।

आइतबार प्रकाश भुजेल, ऋषि धमलादेखि नेता धवल शमशेर राणासमेत लघुवित्त पीडितको धर्नामा पुगेका छन् । प्रहरी अधिकारीका अनुसार दुर्गा प्रसाईंलाई भने धर्नामा सहभागी हुन प्रहरीले नै रोक लगाएको छ । लघुवित्त पीडितलाई भड्काउन सक्ने भन्दै प्रहरीले उनको निगरानी बढाएको हो ।

प्रहरी अधिकारीका अनुसार प्रसाईंले पीडितलाई भड्काउन सक्ने भन्दै बाहिर निस्कन नदिन प्रहरीको भ्यान दुर्गा प्रसाईंको घर अगाडि २४ घण्टा नै राख्न थालेको छ ।

एक उच्च अधिकारीले भने, ‘‘दुर्गा प्रसाईंले पीडितलाई भड्काउन सक्छन् भनेर घर अगाडि प्रहरीको भ्यान नै राखेका छौँ । त्यो भनेको बाहिर निस्किए भने प्रहरीले पक्राउ गर्न सक्न भन्ने त्रासले उनी आफैँ नआउन् भन्ने हो ।’’

शुक्रबार नै जिल्ला प्रशासन कार्यालय ललितपुरले लघुवित्त पीडितहरुसित वार्ता गर्न तयार रहेको र पीडितका तर्फबाट वार्ता टोली बनाउन सूचना जारी गरेको थियो । तर, अझै वार्ता टोली भने बनेको छैन ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवत्तला तथा एसपी गौतम मिश्रले चार दिनदेखि लघुवित्त पीडितहरु धर्नामै रहेको बताए । आफ्ना मागहरु मानवअधिकार आयोगलाईसमेत सुनाउन आफूहरु आयोगको कार्यालय अघि धर्नामा बसेको पीडितहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया