काठमाडौं, १ भदौ २०८३ । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको बताएका छन् । सोमबार राति प्रहरी हिरासतबाट निस्कँदै उनले सञ्चाकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानुनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरी प्रतिशोध साँधेको आरोप लगाए । उनले सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द गर्ने खेल खेलिरहेको टिप्प्णी गरे ।
उनले सर्वोच्च अदालतको परमादेशले सञ्चारमाध्यममाथि सरकार थप आक्रात्मक हुने प्रयासमा रोक लगाएको बताए । राज्यको निरंकुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहेको उनको भनाइ छ ।
‘यो पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही हो । यो सरकार गठन भएदेखि कहिले मिडिया, कहिले टे«ड युनियन, कहिले अदालतलाई गिजोल्दै, गिजोल्दै आयो,’ उनले भने, ‘केही प्रक्रिया नै पुरा नगरी हुकुमी शैलीमा आक्रमणको प्रयास भयो । जनआस्थाले लेखेको न्यूजहरु गलत छन् भने राज्यले त्यसको खण्डन गरे हुन्छ ।’
उनले आफ्नो गिरफ्तारी पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही भएको टिप्पणी गरे । जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो ।






