जेबि खड्का
गौरीगंज, ३१ साउन २०८३ । लागु औषध दुर्व्यसनी नियन्त्रण गर्ने उदेश्यले झापाको गौरीगंजमा म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ। ठेकिटोला युवा समुहको आयोजनामा यही भाद्र २० गते शनिबार बिहान ७ बजे दौड प्रतियोगिता संचालन गरिने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ।
गौरीगंजमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजकका अध्यक्ष राजु बस्नेतले युवा समुदायलाई खेल प्रति आकर्षण बढाउदै विभिन्न कार्यक्रममा ब्यस्त गराएर लागु औषधबाट मुक्त बनाउन सम्भव रहेको बताएका थिए। खेल मार्फत व्यक्तिको स्वास्थ्यमा समेत सुधार ल्याउन सकिने आयोजकका प्रबक्ता सुशील राईले जानकारी गराएका छन। म्याराथन दौडमा युवाका साथै महिला र भेट्रानका लागि समेत पुरस्कृत गरिने प्रबक्ता राईले जानकारी गराएका छन।
दौडमा बिभागिय टोली नेपाल पुलिस , आर्मी, सशस्त्र प्रहरी , छिमेकी मित्रराष्ट्र भारतका साथै नेपाल भित्रका धावकहरु समेत सहभागी हुने निश्चित भएको आयोजकका अध्यक्ष बस्नेतले जानकारी गराएका छन्। बिशेष आकर्षणका रुपमा सिक्किमका म्याराथन धावक लागु औषध बिरुद्धका उत्प्रेरक प्रिमियस भुटियाको समेत सहभागीता रहने आयोजकले जनाएको छ। सहभागीले भाद्र २० गते शनिबार बिहान ७ बजे ठेकिटोला चौक देखि मोरङको सिमना रतुवा खोला पुगेर पुन ठेकिटोला चौक सम्म दौडनु पर्नेछ।
म्याराथन दौडमा प्रथम हुनेले नगद ३१ हजार दोस्रो हुनेले २१ हजार र तेस्रो हुनेले ११ हजारका साथै उत्कृष्ट १० स्थान सम्मलाई नगद रकम प्रदान गरिने आयोजकले जनाएको छ। बिशेष पुरस्कारको रुपमा सहभागी महिलालाई प्रथमलाई १५ हजार, दोस्रोलाई ११ हजार र तेस्रोलाई ६ हजार नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। भेट्रानका लागि ५ हजार १ सय प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च हुने अनुमान गरिएको प्रबक्ता राईले जानकारी गराएका छन। गौरीगंज गाउँपालिका वडा नं.३ बाट १ लाख सहयोग हुने समुहका अध्यक्ष बस्नेतले जानकारी गराएका छन।







