काठमाडौं, १४ साउन २०८३ । प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ूघाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ,ू प्रधानमन्त्रीले भनेका छन् ।
घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति(सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका उनको भनाइ छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उनले जनाएका छन् ।
‘म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ सम्बोधनमा प्रधानमन्त्रीले भने ।






