विराटनगर, १३ साउन २०८३ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न ५ बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।
प्रतिबद्धतामा घटनापछि विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, आक्रोश र प्रतिशोधको भावनाभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै सर्वसाधारणलाई पनि संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि निर्णयमार्फत अनुरोध गरिएको छ।
यस्तै, घटनापछि भएका प्रदर्शन र भिडभाडमा किशोर तथा युवाहरूको सहभागिता देखिएको भन्दै अभिभावकलाई आफ्ना बालबालिकालाई अनावश्यक रूपमा बाहिर नपठाउन तथा उनीहरूलाई संयमित बनाउन विशेष आग्रह गरिएको छ।
संयुक्त निर्णयमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
उक्त निर्णय पत्रमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योग–व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।






