Online Bichar
बुधबार, आषाढ २४, २०८३ | Wednesday, July 8, 2026

काठमाडौं, २४ असार २०८३ । टेलिकम कम्पनीले धमाधम आफ्नो थ्रीजी सेवा बन्द गर्न थालेका छन् । नेपाल टेलिकम र एनसेलले आफ्नो थ्रीजी सेवालाई चरणबद्ध रूपमा बन्द गर्दै फोरजीमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाएको हो ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार थ्रीजी सेवा हटाउने काम भूगोलका हिसाबले ‘क्लस्टर’ बनाएर गरिँदैछ । यसको लागि वायरलेस सेवा निर्देशनालय अन्तरगत समिति नै बनाएर काम भइरहेको छ ।

देशभर रहेका करिब ३ हजार टावर (साइट) मध्ये हाल करिब २९६० वटा साइटलाई थ्रीजीबाट हटाउने प्रक्रियामा नेपाल टेलिकमले राखेको छ । तीनहजार मध्ये करिब ४० वटा साइटको थ्रीजी सेवा भने पहिले नै बन्द भइसकेको थियो ।

थ्रीजी सेवा हटाउनका लागि हाल चितवनमा एउटा क्लस्टर (निश्चित क्षेत्र) लाई लक्षित गरेर काम भइरहेको छ । त्यहाँ सफल भएपछि आगामी आर्थिक वर्षभित्र देशभर क्रमशः थ्रीजी पूर्ण रूपमा बन्द गर्ने योजना रहेको प्रवक्ता लामिछानेले जनाए ।

लामिछानेका अनुसार भ्वाइस कल थ्रीजी, टुजी वा फोरजी जुनसुकैमा भए पनि भोल्टेमार्फत उपलब्ध हुन्छ । तर डाटा भने थ्रीजीभन्दा फोरजीमा बढी राम्रो हुन्छ । त्यसैले विश्वभर धेरै ठाउँमा थ्रीजी वा टुजी हटाएर फोरजी र फाइभजी मात्र चलाउने प्रचलन बढ्दै गएको छ । नेपाल टेलिकम पनि सोही अनुरूप अघि बढेको हो ।

यसरी थ्रीजी सेवा हटाउँदै गर्दा प्रयोगकर्तालाई कुनै असहज नहोस् भनेर योजनाबद्ध ढंगले काम भइरहेको लामिछानेको भनाइ छ । ‘हामी सबै व्यवस्थित तरिकाले समिती बनाएर नै काम गरिरहेका छौँ । थ्रीजी सेवाको सीम प्रयोग गरिरहनुभएकालाई पनि फोजीमा जान प्रोत्साहन गरिरहेका छौँ,’ उनले अनलाइनखबरसँग भने ।

नेपाल टेलिकमका अनुसार, हाल थ्रीजी सेवा प्रयोग गर्ने ग्राहक संख्या करिब ६ लाख हाराहारी रहेको छ । यी ग्राहकलाई क्रमशः फोरजीमा सार्ने काम समानान्तर रूपमा भइरहेको छ । प्रयोगकर्ताले निशुल्क सीम फोरजीमा अपग्रेड गर्ने स्किम भने टेलिकमले झन्डै ६–७ वर्षदेखि चलाइरहेको छ । सोही क्रमलाई टेलिकमले निरन्तरता दिइरहेको छ ।

‘अहिले थ्रीजी प्रयोग गर्नुभएको कसैले सीम परिवर्तनको ‘डिमाण्ड’ गरे निशुल्क परिवर्तन गर्न सक्नुहुन्छ,’ लामिछानेले भने, ‘कसले सीम अपग्रेड गर्न आवश्यक छ भन्ने चाहिँ हामीले थ्रीजी प्रयोग गर्नुभएकालाई आन्तरिक रुपमा मेसेज गरेर भनिरहेकै छौँ । सचेतनाको काम पनि सँगसँगै जारी छ ।’

सिम परिवर्तनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रसहित नजिकको नेपाल टेलिकम कार्यालयमा जान सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यसरी थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीले टुजी र फोरजी सेवा मात्रै उपलब्ध गराउनेछन् । त्यस्तै, यसबाहेक फाइभजीको तयारी र सपना पनि सँगसँगै रहेको टेलिकम कम्पनीले जनाएका छन् ।

थ्रीजी हटाएर फोरजी सेवामा प्रोत्साहन गर्नुको कारणमा भने कम्पनीहरुले थ्रीजीले कम ब्यान्डविथ उपलब्ध गराउने तथा डाटा र भ्वाइस सेवाको गुणस्तर पनि सीमित रहनुलाई देखाएका छन् । यसले पनि अधिकांश सेवा प्रदायक कम्पनीहरू थ्रीजीको तुलनामा फोरजी नेटवर्कमा केन्द्रित हुँदै गएका हुन् ।

थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने स्पेक्ट्रम तथा नेटवर्क स्रोतलाई फोरजी सेवाको क्षमता विस्तार, ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ ९भोल्टे० सेवाको गुणस्तर सुधार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि उपयोग गरिने ती कम्पनीको भनाइ छ । यसबाट ग्राहकले थप तीव्र गतिको इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा स्थिर नेटवर्क पाउने छन् ।

हाल नेपाल टेलिकमले २१०० मेगाहर्जमा थ्रीजी सेवा प्रदान गरिरहेको छ ।

फोरजीको हकमा भने यसले ७५० वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ भने आगामी दिनमा सम्पूर्ण स्थानीय तहमा यो सेवा विस्तार गर्दै गुणस्तर सुधार गर्ने तयारी देखिन्छ ।

एनसेलको पनि उस्तै गति

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि २२ असारबाट पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिएको जनाएको छ । कम्पनीले यसअघि कोशी प्रदेशका केही स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिसकेको छ ।

एनसेलका अनुसार यो चरणमा कोशी प्रदेशका उदयपुरका त्रियुगा, चौदण्डीका, बेलका, कटारीमा यो सेवा बन्द हुनेछ भने संखुवासभाको खाँदबारी, चैनपुर र धर्मदेवीमा, धनकुटाको पाख्रीबास, साँगुरीगढी तथा भोजपुरको टेम्केमैयु र अरुणलगायतका स्थानीय तहमा थ्रीजी बन्द हुँदैछ ।

मधेस प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कञ्चनपुर, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायतका स्थानीय तहमा थ्रीजी बन्द हुनेछ । यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेवलगायतका स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौँडा, बकैया, मनहरी र राक्सिराङ जस्ता स्थानीय तहहरुमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ ।

एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धताअनुरूप एनसेलले थ्रीजी बन्द गर्न लागेको हो । एनसेलका कुल एक करोड ४१ लाख सक्रिय ग्राहक मध्ये ०.७ प्रतिशतले थ्रीजी सेवा प्रयोग गरिरहेका छन् । ‘हामी सन् २०२७ को पहिलो तीन महिनाभित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भनिन् ।

थ्रीजी सेवा बन्द भए पनि ग्राहकहरूले टूजीका साथै फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस सेवाको उपयोग गर्न सक्छन् । थ्रीजी बन्द भए पनि यो नेटवर्कमार्फत प्रदान हुँदै आएको भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत उपलब्ध हुने कंसाकारले बताइन् ।

‘थ्रीजी बन्द भएपछि सेवाका लागि प्रयोग हुँदै आएको स्पेक्ट्रम फोरजी सेवाका लागि उपयोग हुन्छ । उच्च गतिको मोबाइल डेटा तथा भोल्टेमार्फत गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन हामीले फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार गरिसकेका छौँ,’ उनले भनिन् ।

त्यस्तै, एनसेलले आगामी दिनमा फाइभजीजस्ता नयाँ प्रविधि सञ्चालनका लागि आवश्यक तयारीसमेत गरिरहेको जनाएको छ ।

नेपाल टेलिकमलेझैँ एनसेलले पनि अझै थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी नेटवर्कमा स्तरोन्नति गर्न तथा फोरजी चल्ने मोबाइलमा भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार यो सेवा प्रयोगका लागि फोरजी चल्ने सिम, फोरजी चल्ने मोबाइल सेट र फोरजी नेटवर्कको आवश्यक पर्छ ।

 

 

तपाईको प्रतिक्रिया