झापा, ९ जेठ २०८३ । जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। पाँचथरको नागी गाविस–९ घर भई हाल जिल्ला कारागार झापामा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहिबार साँझ ५ बजे घिमिरेलाई अचानक स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँ थप उपचार आवश्यक भएपछि राति ९ः४५ बजे ओमसाई पाथीभरा अस्पताल भद्रपुर रेफर गरिएको थियो।
शनिबार राति चिकित्सकको सल्लाहअनुसार उनलाई सोही अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। पछि अवस्था थप गम्भीर बनेपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।
उपचारकै क्रममा आज बिहान ३ः४५ बजे बी एन्ड सी अस्पतालमा घिमिरेको मृत्यु भएको हो। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले हालसम्म ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए।






