सिरहा, १९ वैशाख २०८३ । निरन्तर वर्षासँगै आएको बाढीले कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ । जसका कारण सिरहा र धनुषा जोड्ने सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। हुलाकी राजमार्गअन्तर्गत यहाँ निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको ‘डाइभर्सन’ शनिबार बिहानको बाढीले बगाएको हो ।
बिहीबार रातिदेखिको भारी वर्षाका कारण पुनः क्षतिग्रस्त भएपछि हाल सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् । केही दिनअघि पनि वर्षाले क्षति पुर्याएपछि मर्मत गरी ‘डाइभर्सन’ सञ्चालनमा ल्याइएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, नदीमा पानीको बहाव उच्च रहेकाले हाल मर्मत गर्ने अवस्था छैन । “पश्चिमपट्टी पानीको बहाव धेरै छ । पानीको सतह घटेपछि नगरपालिकाको जेसिबी प्रयोग गरी बाँध निर्माणको काम अघि बढाइनेछ,” उनले भने ।
कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । पुल निर्माण नहुँदा बर्खायाममा ज्यान जोखिममा राखेर डुंगा चढ्नुपर्ने वा घण्टौँ घुमेर पूर्वपश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।रासस






