काठमाडौं, १६ वैशाख २०८३ । काठमाडौंका नदी किनारमा रहेका सबै सुकुमवासी बस्ती तथा सरकारी, सार्वजनिक र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने अभियान सुरु हुने जनाएको छ।
प्रशासनका अनुसार काठमाडौंका विभिन्न पालिकाभित्र नदी किनार, पर्ति, सरकारी तथा निजी स्वामित्वका जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई मानवीय उद्धार र विपद् जोखिम न्यूनीकरणको उद्देश्यले खाली गराइनेछ।
यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रमा रहेका बस्तीहरू खाली गराइसकिएको थियो।
प्रशासनले प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण, बिरामी तथा अशक्तको उद्धार, व्यक्तिगत सामान हटाउने, पशुपंक्षी सार्ने लगायतका १३ बुँदे निर्देशन जारी गरेको छ। साथै आवश्यक परेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको सहयोग लिन सकिने व्यवस्था गरिएको छ।
सूचनामा वैशाख १७ गते साँझसम्म पूर्ण रूपमा घरटहरा खाली गर्न आग्रह गरिएको छ। सरकारले वास्तविक भूमिहीन तथा प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था गर्ने र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले काम गर्ने जनाएको छ।
प्रशासनले गलत सूचना वा अफवाहमा नलाग्न आग्रह गर्दै अटेर गरेमा संरचना भत्किएर हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने चेतावनी दिएको छ।






