झापा, १५ वैशाख २०८३ । झापाको झापा गाउँपालिका–१ सालमारा स्थित जालिम मियाको घरबाट आज १२:३० बजेको समयमा ठूलो परिमाणमा स्याउ बरामद गरिएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा लैजानका लागि स्याउ लुकाई–छिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बा झापा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेको थियो ।
छापामारीका क्रममा बिल–बिजक बिना लुकाई राखिएको १०४ काटुन, जम्मा २०८० के.जी. स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद स्याउको अनुमानित मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको छ ।
बरामद गरिएको स्याउ आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।






