झापा, १३ वैशाख २०८३ । झापामा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको ‘स्वीप अपरेशन’ अन्तर्गत प्रहरीले पछिल्ला चार दिनमा १ सय ५१ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले मिति २०८३ वैशाख १३ गते १० जनालाई नियन्त्रणमा लिएका छन् । सो क्रममा ८ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजेपाम ६ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसअघि वैशाख १२ गते १६ जना पक्राउ परेका थिए । उनीहरूमध्ये ५ जनाबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र ३२ ट्याब्लेट नाइट्रोजेपाम बरामद गरिएको थियो ।
त्यसैगरी वैशाख ११ गते ६३ जना नियन्त्रणमा लिँदा १६ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ११७ ट्याब्लेट र डिकोलिक १०५ ट्याब्लेट बरामद गरिएको थियो ।
वैशाख १० गते ६२ जनालाई नियन्त्रणमा लिँदै २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लागुऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रणका लागि सञ्चालन गरिएको यस्तो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ ।





