झापा, १३ वैशाख २०८३ । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा परालमा आगो लगाउँदा आगलागीका घटना भएका छन्। दुवै घटनामा मानविय तथा चौपायाको क्षति नभए पनि करिब ६२ हजार रुपैयाँ बराबरको पराल जलेर नष्ट भएको छ।
पहिलो घटना गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलमा आइतबार (२०८३ वैशाख १२) दिउँसो करिब १:१५ बजे भएको हो। स्थानीय भीमप्रसाद कोईरालाले खेत सफा गर्ने क्रममा धुलो परालमा लगाएको आगो पुनः सल्किएर करिब डेढ बिघा क्षेत्रमा थुपारिएको परालमा फैलिएको थियो। उक्त आगो गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब १:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट पराल पूर्ण रूपमा जलेर करिब १२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यस्तै, दोस्रो घटना कचनकवल गाउँपालिका–१ सोमबारेमा सोही दिन दिउँसो करिब १२स्३० बजे भएको थियो। स्थानीय दुर्गेनन्द राजवंशीले खेतको परालको झुसमा लगाएको आगो छेउमा राखिएको परालको टालीमा सल्किँदा आगलागी भएको हो। उक्त आगो स्थानीयवासी, सशस्त्र प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा करिब २:१५ बजे नियन्त्रणमा लिइएको थियो।
यस आगलागीबाट करिब चार बिघा क्षेत्रफलमा जम्मा गरिएको पराल पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। दुवै घटनामा खेतबारी सफा गर्न लगाइएको आगो अनियन्त्रित हुँदा आगलागी भएको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले यस्ता कार्य गर्दा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।





