झापा, १२ वैशाख २०८३ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाको झापा गाउँपालिका–१ बिलाईतीबारी क्षेत्रमा शनिबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटरमा सवार दुई जनालाई शंका लागी जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ का ३३ वर्षीय विक्रम चौधरी र २८ वर्षीय साजन माझी रहेका छन्। जाँचका क्रममा स्कुटरको डिकीभित्र चकलेटको डब्बामा लुकाएर ल्याउँदै गरेको करिब ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको हो।
उक्त पदार्थ प्लास्टिकमा प्याक गरी लुकाएर ल्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कुमरखोद मा राखिएको छ। घटनाबारे लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





