झापा, १२ वैशाख २०८३ । बिर्तामोड नगरपालिका–३ भाटभटेनी नजिक पूर्व–पश्चिम राजमार्ग मा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार विराटनगरबाट बनियानीतर्फ जाँदै गरेको मे १ ख २६२६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ गइरहेको प्र.१–०१–००२ ह ५१९८ नम्बरको अटोलाई ठक्कर दिएको हो। दुर्घटनामा अटो चालक कचनकवल गाउँपालिका बनियानीका ३८ वर्षीय अस्मुदिन अन्सारी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
अटोमा सवार अन्य यात्रुहरू कल्पना चापागाईं, भावना अधिकारी, साबिया अधिकारी, लक्ष्मी नेपाल, सुगम नेपाल र गणेश श्रेष्ठ घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते सबैको बिर्तासिटी अस्पताल मा उपचार भइरहेको छ। घटनापछि नेपाल प्रहरी को टोली खटिएको थियो। बस, अटो र बस चालक शिवसताक्षी नगरपालिका–११ का ३६ वर्षीय सुमन उप्रेतीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी मा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।





