काठमाडौं, १० वैशाख २०८३ । प्युठानमा भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
बिहीबार दिउँसो प्युठान नगरपालिका–४ को टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त जीप भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको थियो।
दुर्घटनामा परी एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार रहेका थिए। जीप चालक नेपाली नागरिक रहेका छन् र उनी पनि घाइते भएका छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






