Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, ८ वैशाख २०८३ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयबारे सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।

बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट रहनेछन् भने सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल रहने व्यवस्था गरिएको छ।

त्यस्तै, नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरिएको छ।
सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन विधेयक तथा मतदाता नामावली ऐन २०७३ संशोधन विधेयक पनि संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ।

यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्य (प्युठान) तथा सदस्यमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सरकारका यी निर्णयहरूले वित्तीय क्षेत्र, निर्वाचन प्रणाली तथा सहकारी व्यवस्थापन सुधारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया