Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

रुपन्देही, ८ वैशाख २०८३ । देशभर तापक्रम तीव्र रूपमा बढ्दै गएको अवस्थामा मौसम पूर्वानुमान महाशाखाले तातो दिन तथा तातो लहरको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म विशेषगरी तराई र पहाडी जिल्लाका विभिन्न स्थानमा अत्यधिक गर्मी रहनेछ।

मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसँगै उपत्यका तथा भित्री मधेश क्षेत्रमा तातो लहरको जोखिम बढी रहेको जनाइएको छ। पछिल्ला दिनहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ र अझै केही दिन उच्च रहने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार प्रि–मनसुन अवधिमा वर्षा नहुनु, सुख्खा हावा चल्नु र आकाश सफा रहनुले तापक्रम अस्वाभाविक रूपमा बढिरहेको छ। यसले गर्दा तराई क्षेत्रमा ‘लु’ चल्ने, डिहाइड्रेसन, टाउको दुख्ने, अत्यधिक थकान तथा हीट स्ट्रोकजस्ता स्वास्थ्य समस्या बढ्ने जोखिम रहेको छ।

महाशाखाले सर्वसाधारणलाई दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा चिसो कपडा लगाउन तथा वृद्ध, बालबालिका र बिरामी व्यक्तिको विशेष हेरचाह गर्न आग्रह गरेको छ।
यता केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना भए पनि अधिकांश तराई क्षेत्रमा मौसम सुख्खा र अत्यधिक तातो रहने पूर्वानुमान गरिएको छ।

सरकार तथा सम्बन्धित निकायहरूले तातो लहरबाट हुने सम्भावित जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि र आवश्यक तयारी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

तपाईको प्रतिक्रिया