काठमाडौं, ८ वैशाख २०८३ । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोल को निधन भएको छ। ९२ वर्षको उमेरमा उहाँको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो।
आजै उहाँको दाहसंस्कार गर्ने तयारी गरिएको परिवारले जनाएको छ। डा. गंगोलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको ठानिएको छ। उहाँले आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक गरेका थिए।
उहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत हुनुहुन्थ्यो। करिब चार दशकसम्म वीर अस्पताल मा सेवा दिएका डा. गंगोलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए।
वि.सं. १९८९ चैतमा काठमाडौंमा जन्मिएका उहाँले त्रिचन्द्र कलेज बाट बीएस्सी पूरा गर्नुभएको थियो। त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस र बम्बईस्थित ग्रान्ट मेडिकल कलेजबाट एमएस गर्नुभएको थियो।
सन् १९६१ मा नेपाल फर्किएपछि उहाँले वीर अस्पतालमा सेवा सुरु गर्दै सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थालेका थिए। आवश्यक उपकरणको अभाव हुँदाहुँदै पनि जोखिम मोलेर नयाँ शल्यक्रिया विधिहरूको सुरुवात गर्नु उहाँको विशेष योगदान मानिन्छ।
नेपाल चिकित्सक संघ ले श्रद्धाञ्जली व्यक्त गर्दै डा. गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ।






