काठमाडौं, ७ वैशाख २०८३ । नेपालका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सवारी साधन पार्किङ (बिसान) शुल्क अत्यधिक महँगो भएको गुनासो बढेपछि सरकारले संशोधन प्रक्रिया अघि बढाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पार्किङ शुल्क पुनरावलोकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।
समितिलाई तीन दिनभित्र हालको शुल्क संरचना अध्ययन गरी संशोधन प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ।
विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले पार्किङ शुल्क अत्यधिक असुल गरिएको भन्दै असन्तुष्टि जनाएपछि सरकारले शुल्क प्रणाली पुनरावलोकन गर्ने निर्णय गरेको हो।






