Online Bichar
आइतबार, बैशाख ०६, २०८३ | Sunday, April 19, 2026

काठमाडौं, ५ वैशाख २०८३ । नेपाली कांग्रेसको इतर समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टी एकताका लागि बृहत् परामर्श अघि बढाउने निर्णय गरेको छ।

नेता पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए। उनका अनुसार फैसलाप्रति असहमति भए पनि संवैधानिक निकायको निर्णयलाई स्वीकार गर्दै अब सबै पक्षसँग छलफलमार्फत एकता कायम गर्ने निष्कर्ष बैठकले निकालेको हो।

“फैसलाबारे असहमति छ, तर संवैधानिक निकायको फैसलालाई हामी स्वीकार गर्छौँ। एकताका लागि सबै पक्षसँग बृहत् परामर्श आवश्यक छ,” विश्वकर्माले भने।

तीन महिनादेखि जारी विवादमा सर्वोच्च अदालतले वैशाख ४ मा टुंगो लगाउँदै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो। अदालतले निर्वाचन आयोगको निर्णय कानुनी आधारमा रहेको ठहर गर्दै हस्तक्षेप गर्न नमिल्ने जनाएको थियो।

सर्वोच्चको संक्षिप्त आदेशमा देउवा पक्षले आयोगमा दर्ता गराएको उजुरी राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानअनुसार मान्य नहुने उल्लेख छ। साथै, केन्द्रीय पदाधिकारीको अद्यावधिकपछि थापाको हस्ताक्षरबाट सम्पन्न संसदीय निर्वाचनले राजनीतिक वैधता प्राप्त गरिसकेको पनि आदेशमा जनाइएको छ।

फैसलापछि आगामी रणनीति तय गर्न इतर समूह छलफलमा जुटेको हो। बैठकले सांगठनिक र भावनात्मक एकता दुवैलाई सुदृढ बनाउन आवश्यक पहल अघि बढाउने निष्कर्ष निकालेको छ।

नेता विश्वकर्माले अब पार्टी एकताको जिम्मेवारी सभापति गगन थापाको काँधमा आएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले एकताबद्ध पार्टी निर्माणका लागि सबैसँग बृहत् परामर्श गरिने बताए।

तपाईको प्रतिक्रिया