काठमाडौं, ४ वैशाख २०८२ । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले सभापति गगनकुमार थापाको पक्षमा फैसला दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिलाई वैध ठहर गर्दै विपक्षमा दायर रिट खारेज गरेको हो ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई दिएको आधिकारिकता तथा विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले उक्त निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत भएको दाबी गरेका थिए ।
तर सर्वोच्चले सो दाबीलाई अस्वीकार गर्दै निर्वाचन आयोगको निर्णय र थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको छ ।
यस निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्राप्त भएको छ भने पार्टी सञ्चालनमा थप सहजता आउने देखिएको छ । साथै, विशेष महाधिवेशनलाई अवैध ठहर गर्ने देउवा पक्षको दाबी पनि अदालतले खारेज गरेको छ ।






