झापा, ४ वैशाख २०८३ । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालय झापाले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गर्ने भएको छ। साथै, कार्यालयले अनधिकृत व्यक्ति (बिचौलिया) को प्रवेशमा कडाइ गरेको छ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै वैशाख ७ गतेदेखि टोकन प्रणाली लागू गरिने जनाएको हो। हाल सेवाग्राहीले सेवा लिन घण्टौं कुर्नुपर्ने समस्या देखिएकाले त्यसलाई व्यवस्थापन गर्न नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ।
सूचनाअनुसार जनशक्ति, क्षमता र संरचनाको आधारमा दैनिक सेवा व्यवस्थापन गरिनेछ। ६ वटा मोठ फाँटबाट प्रति फाँट २५ वटा टोकन वितरण गरिने व्यवस्था गरिएको छ। यसअनुसार दैनिक करिब १५० वटा लिखत पारित तथा निर्णयसम्बन्धी सेवा टोकन प्रणालीमार्फत प्रदान गरिनेछ।
टोकन बिहान ९ बजेदेखि दर्ता चलानी तथा नागरिक सहायता कक्षबाट वितरण गरिनेछ। सेवा लिन सेवाग्राहीले आवश्यक कागजातसहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
टोकन प्रणालीमार्फत लिखत पारित, संशोधन, नामसारी, दाखिला खारेज, प्रतिलिपि, रोक्का र अद्यावधिकजस्ता सेवा उपलब्ध हुनेछन्। भने फुकुवा, वर्गीकरण, स्रेस्ता उतार, हालसाबिक तथा भूमिसुधारसम्बन्धी कामका लागि टोकन आवश्यक नपर्ने जनाइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गरिएको हो।
त्यसैगरी, कार्यालय परिसरमा बिचौलियाको प्रवेशमा कडाइ गरिनुका साथै सेवाग्राहीले अब अनिवार्य रूपमा परिचय खुल्ने कागजात देखाएर मात्र प्रवेश पाउनेछन्। आवश्यक परेमा मात्रै भू–सेवा सञ्चालक, कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई प्रवेश अनुमति दिइनेछ।
यस्ता व्यवसायीहरूले नेपाल लेखापढी तथा कानून व्यवसायी एसोसिएसन, इकाई समिति भद्रपुरबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।
कार्यालयले सेवाग्राहीलाई आवश्यक कागजातसहित मात्र उपस्थित हुन तथा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ। साथै कर्मचारी बाहेक अन्य अनधिकृत व्यक्तिलाई कुनै पनि फाँटभित्र प्रवेश पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारिएको छ।
मालपोत कार्यालय भद्रपुरले हाल ९ वटा पालिकालाई सेवा प्रवाह गर्दै आएको छ।टाईम्स अफ प्रदेशबाट






