काठ्माडौं, ४ वैशाख २०८३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले विभिन्न अस्पताल, स्वास्थ्य संस्था तथा अन्य प्रतिष्ठानहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफलगायत कर्मचारीलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको र तोकिएको भन्दा बढी समय काम गराइएको भन्ने गुनासो प्राप्त भएको जनाएको छ।
मन्त्रालयका अनुसार श्रम ऐन २०७४ ले ‘रोजगार सम्झौता’लाई रोजगारदाता र श्रमिकबीच सेवा, शर्त र सुविधासम्बन्धी भएको औपचारिक सम्झौताको रूपमा परिभाषित गरेको छ, जसमा नियुक्तिपत्र पनि समावेश हुन्छ।
कानुनअनुसार दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने स्पष्ट व्यवस्था छ। आवश्यक परेमा अतिरिक्त काम गराउँदा पनि दैनिक ४ घण्टा र साप्ताहिक २४ घण्टाभन्दा बढी हुन नहुने उल्लेख गरिएको छ।
मन्त्रालयले प्रचलित श्रम कानुनको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिँदै उल्लंघन भएमा श्रम ऐन २०७४ अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।रासस






