Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

वीरगन्ज, ३० चैत २०८२ । वीरगन्जमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय चौरसियाको आइतबार साँझ वीरगन्ज–११ रानीघाटस्थित एक घरमा कुटपिट गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार, उनी रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह र उनकी २४ वर्षीया पत्नी सोनी कुमारी साह बस्दै आएको कोठामा पुगेका थिए। सोही क्रममा त्यहाँ कुटपिट हुँदा उनको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा सन्तोष साह, उनकी पत्नी सोनी कुमारी साह, सन्तोषका नातेदार १९ वर्षीय विशाल साह र भारत उत्तरप्रदेशका २१ वर्षीय ओमवीर प्रजापतिलाई आइतबार साँझ नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार प्रारम्भिक अनुसन्धानमा चौरसिया र सोनी कुमारीबीच विवाहेतर सम्बन्ध रहेको देखिएको छ। सोही सम्बन्धका कारण सन्तोषले हत्या योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, योजनाअनुसार सोनीले चौरसियालाई कोठामा बोलाएकी थिइन्। त्यसपछि सन्तोष, सोनी, विशाल र ओमवीरले रड प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका चौरसियाको मृत्यु भएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताए । उनले भने,’अहिलेसम्मको अनुसन्धानका क्रममा प्रहरी जवान चौरसियाको हत्या विवाहेतर सम्बन्धका कारण भएको देखिन्छ ।’यसबारेमा थप अनुसन्धान भइरहेको उनले भने।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया