काठमाडौं, २९ चैत २०८२ । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३, सेप्टेम्बर ८ मा जन्मिएकी आशाको ९२ वर्षको उमेरमा भारतको मुम्बईस्थ्ति ब्रिच क्यान्डी अस्पतालमा आइतबार निधन भएको हो । हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको थियो ।
आशाका छोरा आनन्द भोसलेले निधनको पुष्टि गरेका छन् । आशाको अन्तिम संस्कार सोमबार दिउँसो ४ बजे शिवाजी पार्कमा गरिने छोराले आनन्द भोसलेले बताएका छन् । परिवारका अनुसार, उनको अन्तिम संस्कार सोमबार गरिनेछ ।
१२ हजारभन्दा बढी गीतमा आवाज
लता मंगेशकरकी बहिनी आशाले सांगीतिक करियरमा १२ हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन् । उनका ‘दम मारो दम’, ‘पिया तु अब तो आजा’, ‘चुरा लिया है तुमने’लगायत गीत सदाबहार छन् ।
परिवार र संगीत
आशा ९ वर्षकी हुँदा उनका पिताको निधन भयो । त्यसपछि परिवारको खर्चपानी जुटाउन दिदी लता मंगेशकरसँग मिलेर गीत गाउन सुरु गरेकी थिइन् ।
१६ वर्षमा दिदीका ३१ वर्षीय सचिव (सेक्रेटरी) गणपतराव भोसलेसँग भागी बिहे गरेकी दिइन् । तर, उनको यो कदमप्रति लता र उनको परिवार बेखुस थियो । यही कारण आशा र लताबीच लामो समयसम्म बोलचाल नै बन्द भयो ।
बिहेपछि आशाले थप संघर्ष गर्नुपर्यो । साथै, घरेलु हिंसाको सिकारसमेत बनिन् । कतिसम्म भने, उनी जिन्दगीदेखि निराश भएर आत्महत्या गर्ने सोचसम्म पुगेकी थिइन् ।
सन् १९६० मा उनको सम्बन्धविच्छेद भयो ।
आरडी बर्मनसँग दोस्रो बिहे
आशाले आरडी बर्मनसँग दोस्रो बिहे गरिन् । उनीहरूबीचको चिनजान भने १९५६ देखि भएको थियो । त्यसपछि चलचित्र ‘तिसरी मंजिल’ ९१९६६० मा काम गर्दा दोस्ती भयो । त्यो दोस्ती बिस्तारै प्रेममा परिणत भयो । फलतः उनीहरूले बिहे गरे ।
त्यसो त आशासँग बिहे गर्ने प्रस्ताव बर्मनले राखेका थिए । आशाले तत्काल प्रस्ताव स्वीकार गरिन् । तर, यता बर्मनकी आमाले आशासँग बिहे गर्ने प्रस्ताव अस्वीकार गरेकी थिइन् । उनले भनेकी थिइन्, “यदि यो बिहे हुन्छ भने मेरो लासमाथि हुन्छ ।”
बर्मनकी आमाले आशासँग छोराको बिहे अस्वीकार गर्नुको कारण एक त आशा बर्मनभन्दा ६ वर्ष जेठी थिइन् । त्यसमाथि आशाका तीन बालबच्चा थिए ।
सुरुमा बर्मनले आमाको कुरा माने । तर, पिताको निधन भएपछि आमाको मानसिक स्थित बिग्रिँदै गयो । यस्तो अवस्थामा आमाको अवस्थामा सुधार आओस् भन्नका लागि पनि आशासँग सन् १९८० मा बिहे गरे ।
पहिलो गीत
आशाले हिन्दी भाषामा पहिलोपटक चलचित्र ‘चुनरिया’ ९१९४८० मा ‘सावन आया रे’ गीत गाएकी थिइन् । त्यसपछि पछाडि फर्किनुपरेन । उनले फिल्मी गीत, पप, गजल, भजन, शास्त्रीय संगतीसहित विभिन्न १४ भाषाका गीतमा आवाज दिइसकेकी छिन् ।
पुरस्कार
आशा भोसले ग्रामी अवार्डका लागि नामांकित हुनेवाली पहिलो भारतीय गायिका पनि हुन् । उनलाई सन् १९९७ मा यो पुरस्कारका लागि नामांकित गरिएको थियो ।
यस्तै, सन् २००० मा दादा साहेब फाल्के, सन् २००८ मा पद्मविभूषण पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । सन् २०११ मा उनको नाम गिनिज बुकमा लेखिइसकेको छ । एजेन्सीको सहयोगमा






