काठमाडौं, २६ चैत २०८२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।
मुद्दाको फाइल लिएर अख्तियारका कर्मचारीहरू विशेष अदालत पुगेका छन् । हाल मुद्दाको विवरण रुजु गर्ने प्रक्रिया भइरहेको विशेष अदालत स्रोतले जनाएको छ ।
नेकपा नेता समेत रहेका महराको भेपमार्फत हुने सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा अघि बढाउने निर्णय गरेको हो ।
२०७९ सालमा चिनियाँ गिरोहले भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले बरामद गरेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितको संलग्नता भेटिएको बताइएको छ ।
अख्तियारले महरामाथि लागेको आरोप र बिगो सम्बन्धी विस्तृत विवरण भने अझै सार्वजनिक गरिसकेको छैन ।






