काठमाडौं, २६ चैत २०८२ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् ।
साहको विगतदेखि नै विवादित छवि रहेको र मन्त्री नियुक्तिपछि पनि शंकास्पद गतिविधिमा संलग्न भएको संकेत पाएपछि प्रधानमन्त्रीले उनलाई हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार साहका गतिविधि मन्त्रालयको जिम्मेवारी र स्वार्थसँग बाझिने खालका देखिएका छन् । उनी मन्त्री नियुक्त भएको हालै १३ दिन मात्रै भएको अवस्थामा यस्तो निर्णयको तयारी भएको हो ।
साह विगतमा एजुकेसन कन्सल्टेन्सीसँग सम्बन्धित विवादमा मुछिएका थिए । ‘मान्छेहरू विदेश पठाउने संस्थामा उहाँको संलग्नता रहेको तथ्यहरू आएका छन्, रातिको समयमा भएका भेटघाटबारे पनि जानकारी प्रधानमन्त्रीसम्म पुगेको छ,’ स्रोतले भन्यो, ‘स्वार्थ बाझिने मन्त्रालयमा रहन नमिल्ने भएकाले उनलाई हटाउने निर्णय हुनसक्छ ।’
यसैबीच, श्रममन्त्री साहकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा सहभागी भएको विषय पनि विवादमा परेको छ । स्वास्थ्य बीमा बोर्डले लगातार ११ पटक अनुपस्थित रहेको भन्दै उनलाई सदस्य पदबाट हटाएको थियो । तर हाल उनी पुनः सदस्यको हैसियतमा बैठकमा सहभागी भएको पाइएको छ ।






