काठ्माडौं, १३ चैत २०८२ । पत्रकारिता पृष्ठभूमिकी प्रतिभा रावलले शुक्रबार सामान्य प्रशासन मन्त्रालयसहित दुईवटा मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी ३२ वर्षमै मुलुकको प्रशासनिक क्षेत्रसहितको महत्त्वपूर्ण जिम्मेवारी समाल्ने नेतृ बनेकी छन् ।
रास्वपाबाट समानुपातिक सांसद बन्दै उनी सरकारको महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुगेकी हुन् । रास्वपाले संसदमा झण्डै दुईतिहाइ पाएसँगै रावलको सभामुखमा पनि चर्चा भएको थियो । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
उनले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालिसकेकी छन् । उनी रास्वपाबाट समानुपातिक प्रणालीअन्तर्गत महिला क्लस्टरबाट सांसद बनेकी हुन् ।
उनले एक दशकभन्दा बढी समय पत्रकारितामा बिताएकी छन् । रावलले पत्रकारिता क्षेत्रमा रहँदा सार्वजनिक सरोकारका विषयमा संवाद र जवाफदेहितामा आवाज उठाएकी छन् । विगतमा रिपब्लिका दैनिक र ग्यालेक्सी टेलिभिजनमा काम गरेकी थिइन् । ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा रास्वपा सभापति रवि लामिछानेसँग नजिकबाट काम गरेकी थिइन् ।
उनी नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी ग्यालेक्सी फोरके टेलिभिजनमा आबद्ध भएकी थिइन् । उक्त टेलिभिजन बन्द भएलगत्तै रावल राजनीतिमा आएकी हुन् । उनले केही समय साउथ एसिया फ्याक्ट चेकमा पनि काम गरेकी थिइन् । विगतमा लामिछाने गृहमन्त्री रहँदा प्रमुख स्वकीय सचिवका रूपमा पनि काम गरेको अनुभव उनीसँग छ । रावल रास्वपाको सह प्रवक्ताको जिम्मेवारीमा पनि छन् । उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी हुन् ।
प्रारम्भिक शिक्षा महेन्द्रनगरमै पूरा गरिन् । उनी पाँच वर्षकी छँदा पिताको निधन भएको थियो । आमा माया रावलले उनलाई हुर्काइन् । संघर्ष गर्दै नेपालमै स्नातक तहसम्मको अध्ययन गरिन् । पछि उनले भारतको चेन्नईबाट स्नातकोत्तर तह पूरा गरेकी हुन् ।
उनले कर्मचारीतन्त्र, प्रशासन, नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह र नीतिगत काम गर्ने दुई मन्त्रालयको कमान पाएकी छन् ।






