काठ्माडौं, ११ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू सभामुख कसलाई बनाउने भन्ने विषयमा केन्द्रित बनेका छन् ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले गृहकार्यमा जुटेका हुन् ।
रास्वपा स्रोतका अनुसार, चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सोविता गौतमलाई सभामुख बनाउने विषयमा छलफल भएको छ ।
“शीर्ष तहमा सभामुख कसलाई बनाउने भन्ने विषयमा सम्भावित नामहरूमा छलफल भएको छ । त्यसमा सोविता गौतमको त हुने नै भयो । त्यसबाहेक अन्य कसलाई बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ । अन्तिम टुंगो लागिसकेको छैन्,” एक नेताले बाह्रखरीसँग भने ।
सभामुखको आकांक्षीका रूपमा उपसभापति अर्याल, दीपक बोहोरा र सहप्रवक्ता प्रतिभा रावलको नाम चर्चामा आएको छ । पूर्वउपसभामुख इन्दिरा रानामगरलाई भने मन्त्री बनाउने छलफल भइरहेको बताइएको छ ।
त्यस्तै, मन्त्रीहरूको प्रारम्भिक सूची तयार पार्ने काम भइरहेको र भोलि बेलुकासम्म टुंगोमा पुगिने ती नेताले बताए । उनका अनुसार, डा। वाग्लेलाई अर्थमन्त्री र शिशिर खनाललाई परराष्टमन्त्री बनाउने तयारी भइरहेको छ ।
“मन्त्रीको अन्तिम टुंगो पनि लागिसकेको छैन । भोलि बेलुकासम्म टुंगो लगाउने भन्ने छ । एकैचरणमा मन्त्रिपरिषद् गठन गर्ने हाम्रो तयारी हो,” ती नेताले भने ।
रास्वपाले बालेनलाई संसदीय दलको नेता बनाउन भोलि ४ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । नवनिर्वाचित सांसदले बिाहान शपथ ग्रहण गर्नेछन् ।






