काठमाडौं, २ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ ५७ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रास्वपाको सिफारिसमा निर्वाचन आयोगले ४८ जना महिला र नौजना पुरूषलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै गरी रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट आफ्नो पक्षमा पारेको छ ।
यौनिक तथा अल्पसंख्यक समुदायको तर्फबाट भूमिका श्रेष्ठ प्रतिनिधिसभा सदस्य बनेकी छन् । उनी ट्रान्सजेन्डर हुन् ।
त्यस्तै, बडिबिल्डर रजनी श्रेष्ठलाई पनि रास्वपाले समानुपातिक सांसद बनाएको छ । उज्यालो नेपाल छाडेकी रीमा विश्वकर्माले दलित क्लस्टरबाट संसदीय यात्रा तय गरेकी छन् । अभिनेत्री तथा टीभी कार्यक्रम प्रस्तोतासमेत रहेकी उनी सुरुआतमा उज्यालो नेपाल पार्टीमा थिइन् । उज्यालो नेपाल पार्टी र रास्वापबीच एकताको सहमतिसँगै रास्वपाले उनको नाम समानुपातिक सूचीमा राखेको थियो । तर, पछि रास्वपा र उज्यालो नेपाल पार्टी अलग हुँदा रीमा रास्वपामै बसिन् ।
जेनजी सहिदकी आमादेखि घाइतेकी दिदीसम्म प्रतिनिधिसभामा
जेनजी आन्दोलनका सहिदकी आमा रचना खतिवडा क्षेत्री पनि रास्वपाबाट सांसद बनेकी छन् । खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडालाई निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद बनाएको हो ।
उनी जेनजी सहिद रसिक खतिवडाकी आमा हुन् । जेजनी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीको गोली लागेर २३ वर्षीय रसिकले ज्यान गुमाएका थिए ।
रचना खतिवडा रास्वपाको चुनावी अभियानमा समेत खटिएकी थिइन् । खतिवडाको गृहजिल्ला काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपाले जितेको थियो ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा घाइते भएका मुकेश अवस्थीकी दिदी आकृति अवस्थी पनि सांसद बनेकी छिन् । रास्वपाले खसआर्यमा नवौँ नम्बरमा उनको नाम राखेको थियो ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा मुकेशको खुट्टामा गोली लागेको थियो । जसका कारण उनले बाँया खुट्टा गुमाउनुपरेको थियो । अहिले उनी उपचाररत छन् । डडेल्धुराको अमरगढीका २२ वर्षीय मुकेश आकृतिका जेठा भाइ हुन् ।
त्यस्तै, डा। ओजस्वी शेरचन र डा। अंकिता यादव पनि समानुपातिकतर्फबाट सांसद बनेका छन् । रास्वपाको केन्द्रीय समितिबाट ११ जना महिला र दुईजना पुरुष गरी १३ जना समानुपातिकतर्फबाट सांसद बनेका छन् ।
रास्वपा केन्द्रीय सदस्यबाट समानुपातिकतर्फ को-को भए सांसद ?
रास्वपाको केन्द्रीय सदस्यबाट ११ जना महिला र दुईजना पुरुष समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
खसआर्यबाट कोषाध्यक्ष लिमा अधिकारी, जनजातिबाट सहकोषाध्यक्ष बसुमाया तामाङ प्रतिनिधिसभा सदस्य बनेका छन् । अधिकारी एमालेका दिवंगत नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीकी छोरी हुन् । त्यस्तै रास्वपाका सहप्रवक्ताद्वय प्रतिभा रावल र रमेश प्रसाई खसआर्यबाट सांसद बनेका छन् ।
खसआर्यबाटै केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, पिछडिएको क्षेत्रबाट टीका संग्रौला, जनजाति क्लस्टरबाट प्रमिला कुलुजु, एलिजा गुरुङ र काठमाडौंकी कुसुम महर्जन र मधेसी महिलातर्फ निशा मेहता, कामिनी कुमारी (चौधरी) सांसद बनेका छन् ।
विवकेशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका समीक्षा बाँस्कोटा र प्रकाशचन्द्र दर्जी पनि रास्वपाबाट समानुपातिकतर्फका सांसद बनेका छन् । यी दुवै रास्वपाका केन्द्रीय सदस्य हुन् ।
गत मंसिर १४ गते रवि लामिछाने नेतृत्वको रास्वपा र बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीबीच एकता भएको थियो ।
विकेकशीलकै रञ्जु दर्शनालाई पनि रास्वपाको समानुपातिक सूचीमा समावेश गरेको थियो । तर, उनले समानुपातिकतर्फबाट आफ्नो नाम फिर्ता लिएर काठमाडौं-१ मा उमेदवार बन्दै प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचित भएकी थिइन् ।
त्यस्तै, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले पनि पहिलोपटक संसदीय यात्रा तय गरेकी छन् । आदिवासी जनजाति क्लस्टरबाट उनी सांसद बनेकी हुन् । सन् २०१९ मा उनी ‘मिस नेपाल’ बनेकी थिइन् ।






