विराटनगर, १९ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा शान्ति सुरक्षाको दृष्टिकोणले ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा वर्गीकरण गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनका लागि प्रदेशभरि १ हजार ९ सय ७ वटा मतदानस्थल र ४ हजार २ सय ७० वटा मतदान केन्द्र तोकिएका छन्। तीमध्ये ४ सय ३९ वटा मतदानस्थल र १ हजार १६ वटा मतदान केन्द्रलाई अतिसंवेदशीलको सूचीमा राखिएको हो।
८ सय २१ वटा मतदानस्थल र १ हजार ८ सय ६९ वटा मतदान केन्द्रलाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ। सुरक्षा विश्लेषणका आधारमा ६ सय ४७ वटा मतदानस्थल र १ हजार ३ सय ८५ वटा मतदान केन्द्र सामान्य सूचीमा परेका छन्।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर वर्गीकरण गरिएका मतदानस्थल र केन्द्रमा त्यही हिसाबले सुरक्षा व्यवस्था मिलाइएको बताए। ‘सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन्। निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बनेको छ,’ उनले भने।
विगतमा भएका घटनाको विश्लेषण, मतदाताको संख्या, अवाञ्छित एवं निर्वाचन विरोधी गतिविधि, सीमा क्षेत्र, भौगोलिक विकटता, सुरक्षा संवेदनशीलताको अवस्था लगायतलाई ध्यानमा राखेर मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको जानकारी उनले दिए। सरकारले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन लक्षित सुरक्षा योजना लागू गरिसकेको छ। त्यही हिसाबले प्रत्येक मतदानस्थल र केन्द्रमा सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा कडाइ गरिएको जानकारी घिमिरेले दिए।
‘कोशी प्रदेशमा मनोनयनका दिन राजनीतिक दलका कार्यकर्ताबीच केही सामान्य घम्साघम्सीका घटना भए। त्यसपछि कुनै पनि घटना भएका छैनन्। अप्रिय घटना हुन नदिइकन निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने योजनाका साथ काम भइरहेको छ,’ उनी भन्छन्, ‘अहिलेसम्म कुनै घटना नहुनुले पनि सुरक्षा सतर्कता उच्च बनाइएको प्रष्ट हुन्छ। सबै ठाउँमा पर्याप्त मात्रामा पोसाक र हतियारसहित तथा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रविधिको प्रयोग गरेर पनि सुरक्षा सतर्कता बढाइएको छ।’
सुरक्षाको दृष्टिकोणले कुनै पनि संकट आउन नदिने गरी शान्ति सुरक्षाको अवस्था मजबुत पारिएको उनको भनाइ छ। निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी एवं तेस्रो घेरामा नेपाली सेन परिचालन हुने छ। घिमिरेले निर्वाचनलाई लक्षित गर्दै ‘मास्टर प्लान’ लागू गरी सुरक्षा व्यवस्था मिलाइएको बताए।
१४ वटा जिल्ला रहेको कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन्। सबै निर्वाचन क्षेत्रमा भयरहित मतदान सुनिश्चित गर्न प्राथमिकता साथ सुरक्षा निकायबीच समन्वयात्मक ढंगले काम भइरहेको उनले बताए। निर्वाचनलाई लक्षित गरेर सुरक्षाको विशेष तथा अतिरिक्त व्यवस्थासमेत गरिएको छ। उच्च सुरक्षा निगरानी तथा नियमित गस्तीसँगै रिजर्भ फोर्स र मोबाइल टोलीसमेत परिचालन गरिएको छ।
कोशी प्रदेशमा सुरक्षा व्यवस्था अनुगमनको जिम्मेवारी दिएर नेपाल प्रहरीका ३ जना एसएसपीलाई परिचालन गरिएको छ। एसएसपीहरुमध्ये मोरङ र सुनसरीको जिम्मा दिएर ज्ञानेन्द्र फुयाँल, झापा र इलाममा गोविन्द अधिकारी तथा उदयपुर र खोटाङको जिम्मा दिएर योगेन्द्रसिंह थापालाई खटाइएको हो। निर्वाचन अवधिभरका लागि डीएसपीको दरबन्दी भएको जिल्लामा नेपाल प्रहरीका एसपीलाई जिम्मेवारी दिएर परिचालन गरिएको छ।
‘सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गरिने छ। मोबाइल टोली र रिजर्भ फोर्स तयारी छन्,’ डीआईजी घिमिरे भन्छन्, ‘सम्भावित जोखिमलाई ध्यानमा राख्दै मतदानअघि, मतदानका दिन र मतगणनासम्मलाई सुरक्षाको विशेष व्यवस्था छ।’ उनका अनुसार कुनै पनि अप्रिय घटना हुन नदिइकन निर्वाचन सम्पन्न गर्न ‘दृश्य’ र ‘अदृश्य’ रणनीति अपनाइएको छ।
२८ वटा निर्वाचन क्षेत्र रहेको कोशीमा ४ सय ९५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मोरङमा ६ वटा छन्। झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २–२ तथा ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा १–१ वटा निर्वाचन क्षेत्र रहेका हुन्।
कोशी प्रदेशभरि झन्डै पौने ३६ लाख मतदाता छन्। ३५ लाख ७४ हजार ३ सय १० जनामध्ये १८ लाख २८ हजार २ सय १३ पुरुष, १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य हुन्।अन्नपूर्णपोष्टबाट






