Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

काठ्माडौं, ७ फागुन २०८२ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्ने प्रतिज्ञा गरे । गठबन्धनको नाममा भागबण्डा गर्न कुनै पनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ ।

‘संघमा जम्मा १६ वटा मन्त्रालय र प्रदेशमा जम्मा ६ वटा मन्त्रालय रहनेछन्,’थापाले भने, ‘अब कुनै पनि पार्टीले गठबन्धन गरे भागबण्डा गर्न मन्त्रालय बढाउन पाउँदैन ।’

सभापति थापाले ०४६ पछि कांग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै ०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू कांग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको बताए ।

‘विगतमा कांग्रेसले सरकार चलाएको समयलाई हामी स्वर्णीम युग मान्दछौँ । आज पनि नेपालमा जेजति कुरा भएका छ त्यो सबै ०४६ सालपछि कांग्रेसले अपनाएको नीति र मोडेलकै आधारमा भएको छ,’ थापाले भने ।

त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै थापाले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गरे । आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता थापाले व्यक्त गरे ।

‘त्यसपछि पनि नेपालले ठूलो जनविद्रोहको सामना मगर्नुपर्‍यो । यो बीचमा जति पनि प्राकृतिक कारण भएको क्षतिलाई पनि पाँच वर्षभित्र कबर गर्छौं,’ थापाले भने, ‘हामी अबको पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउँछौँ ।’

सभापति थापाले अब कुनै पनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरे । अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्ण रूपमा अन्त्य गर्ने उनको दाबी छ । युवाहरू भविष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको भन्दै उनीहरूलाई संविधानमा उल्लेखित सबै हकहरू उपयोग गर्ने वातावरण मिलाउने थापाको प्रतिबद्धता छ । न्युज एजेन्सी नेपाल

 

तपाईको प्रतिक्रिया