काठमाडौं, ३ फागुन २०८२ । निर्वाचन आयोगले राजनीतिक दल र उमेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आइतबार विभिन्न निर्देशन सार्वजनिक गरिएको हो ।
आयोगले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । आर्थिक सहायता, चन्दा, पुरस्कार दिन आयोगले रोक लगाएको छ ।
“विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने,” आयोगले भनेको छ ।
आयोगले जुलुस, प्रचारप्रसारका निम्ति समयसीमा तोकेको छ । “जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्ने,” निर्देशनको १९ नम्बर बुँदामा उल्लेख छ ।
आयोगले यसअघि नै दिइसकेको कतिपय निर्देशन पनि यसमा समावेश गरेको छ ।






