Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

झापा, १९ कार्तिक २०८२ । झापा चन्द्रगढीका साहित्यकार तथा पूर्वशिक्षक गणेशप्रसाद नेपालको ८२ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ ।

मुटु, प्रोस्टेटलगायतका स्वास्थ्य समस्याका कारण करिब तीन सातादेखि उनी काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत थिए । उपचारकै क्रममा आज बिहान साढे १० बजे नेपालको निधन भएको उनका ज्वाइँ डेनी निरौलाले जानकारी दिए ।

२०२८ सालदेखि शिक्षण पेशामा संलग्न नेपालले भोजपुर, धरान र झापामा विभिन्न विद्यालय तथा संस्कृत विद्यापीठहरुमा करिब पाँच दशक अध्यापन गरेका थिए । २०७१ सालमा सेवाबाट अवकाश लिएपछि उनी साहित्य सिर्जनामा सक्रिय भएका थिए । उनका परदेशको व्यथा ९काव्य, २०७२० र समयका कविता (२०८०) प्रकाशित कृतिहरू हुन् । गुनीको गाना (नीति काव्य) प्रकाशनको अन्तिम तयारीमा थियो । ‘तेस्रो कृति लेखीसिध्याएर प्रकाशनको तयारीमा थियो,’ कान्छा छोरा तथा साहित्यकार रत्नमणि नेपालले भने,‘तेस्रो कृति हेर्ने बुबाको इच्छा अधुरै रह्यो ।’

२००१ साउन २१ गते भोजपुरको कोट गाविसमा जन्मिएका नेपाल २०४० को दशकदेखि चन्द्रगढीमा बसोबास गर्दै आएका थिए । नेपालको आजैै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती दुई छोरा र तीन छोरी छन् ।

 

तपाईको प्रतिक्रिया