विराटनगर, ४ भदौ २०८२ । मोरङको लेटाङमा बजारबाट घर फर्कँदै गरेका दुई जनालाई चिसाङ खोलाले बगाएको छ ।
बुधबार साँझ लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७५ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२ किराँत चोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङलाई खोलाले बगाएको हो ।
लेटाङ बजारबाट घरतर्फ फर्किने क्रममा लेटाङ–६ लामिटारस्थित बगुवा भन्ने ठाउँबाट साँझ साढे ५ बजे खोलाले उनीहरूलाई बगाएको थियो ।
मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनुवारका अनुसार करिब ८ सय मिटर बगाएको अवस्थामा बुद्धवीरको शव फेला परेको थियो । घिसिङको शव भने करिब ९ सय मिटर तल खोलाको बीच भागमा फेला परेको थियो ।
प्रहरीका अनुसार उनीहरू खोलामा सँगै तर्दै थिए । बहाव सामान्य बढेको खोलाले दुवैलाई बगाएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको छ ।






