Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

एमाले र माओवादीले मुख्य मन्त्रीको भागबन्डा कसरी मिलाउलान ?

अवि, झापा । प्रदेश १ मा नेकपा एमालेका केन्द्रिय सचिव भीम आचार्य र पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री शेरधन राईको चर्चा छ। पार्टी पदाधिकारी नै भएकाले सचिव आचार्य स्वत दाबेदार छन्। तर राई–लिम्बूलगायतको जनमत बढी भएकाले राईलाई बनाउने चर्चा पनि छ। राईले प्रदेश मुख्यमन्त्रीको तयारीसमेत थालिसकेका छन्। एमाले भित्रको लाईन संघर्षमा आचार्यको भन्दा राईको पक्षको संगठनमा बलियो पकड मानिन्छ ।

संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन वाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन्। प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा वामगठबन्धनकै सरकार बन्ने निश्चित छ। त्यसैले प्रदेश मृुख्यमन्त्री बन्ने आकांक्षीले कसरत बढाउन थालेका हुन्।

एमाले र माओवादीबीच कुन प्रदेशको कसले नेतृत्व गर्ने भन्ने औपचारिक निर्णय भएको छैन। ‘भर्खरै चुनाव सकिएकाले दुई पार्टीबीच यो बिषयमा धेरै छलफल भएको छैन, दुई दलको समझदारीमै तय हुन्छ’ एमाले सचिव पृथ्वी सुब्बा गुरुङले भने। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि दुई दलबीचको समझदारीमा यो विषय तय हुने जानकारी दिइन्। ‘दुई पार्टी बीच समझदारीमै तय हुन्छ, समझदारीको विधि अनुसार मिलाएर गर्छौं,’ उनले थपिन्।

दुई दलले चुनावअघि ६० र ४० प्रतिशत उम्मेदवारीमा भागबण्डा गरेका थिए। अब पदीय बांडफाटमा पनि त्यही सूत्र प्रयोग हुने सम्भावना छ। यो सुत्र अनुसार अनौपचारिक रुपमा ६ मध्ये ४ वटा एमाले र दुइटा माओवादीलाई दिने गरी कुराकानी भएको छ। माओवादीले प्रदेश ६ र ७ मा आफ्नो दाबी गरेको छ। सशस्त्र द्वन्द्वकालदेखि नै आफ्नो पकड क्षेत्र रहेकाले माओवादीले त्यसतर्फ बढी चासो दिएको हो। प्रदेश १, ३, ४ र ५ मा एमालेको मुख्य दाबी छ। त्यसैले ती प्रदेशमा एमाले नेताहरुले कसरत थालेका छन्। प्रादेशिक सांसदको उपस्थिति हेर्दा सबै प्रदेशमा एमालेका सांसदको संख्या धेरै छ।

प्रत्यक्षतर्फको परिणामअनुसार प्रदेश १ मा एमालेका ३६ र माओवादीका १० सांसदले जितेका छन्। प्रदेश ३ मा एमालेका ४२ र माओवादीका १५ जनाले जितेका छन्। प्रदेश ४ मा एमाले १५, माओवादीका ७, प्रदेश ५ मा एमालेका २७ र माओवादीका १५ जना विजयी भएका छन्। त्यस्तै प्रदेश ६ मा एमालेका १४, माओवादीका ९, प्रदेश ७ मा एमालेका १७ र माओवादी १० जनाले जितेका छन्। अब यो सिटमा समानुपातिकको पनि जोडिनेछ।

प्रत्यक्षतर्फको परिणाम हेर्दा एमाले पहिलो दलको हैसियतले सबै प्रदेशमा दाबी गर्न सक्ने अवस्थामा रहे पनि १, ३, ४ र ५ को नेतृत्वमा उसको बढी जोड छ। तर दुई दलबीचको प्रदेश बाँडफाँटको औपचारिक सहमति भइनसकेकाले सबै प्रदेशमा आकांक्षी दौडधुपमा सक्रिय छन्। विशेष गरी एमालेभित्र पदाधिकारी र केन्द्रीय नेता नै प्रदेश प्रमुखको आकांक्षा राखेर चुनावी प्रतिस्पर्धामा होमिएका थिए। उनीहरु सबैले जितेकाले आफूभित्रबाट पनि को बन्ने भन्नेमा प्रतिस्पर्धा सुरु भएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments