Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

गौरादह, ९ असोज २०७९ । प्रकोपको रुपमा फैलिरहेको डेंगु झापामा पनि बढ्दो क्रममा रहेको छ । जिल्लाको १५ वटा पालिकाहरु मध्ये १३ वटा पालिकामा डेंगुको प्रकोप फैलिए सँगै आज(आईतबार) ८० जनामा डेंगु संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो ।

डेंगु संक्रमण सबैभन्दा बढि हल्दिबारी गाउँपालिकामा १६ जनामा देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिकामा १४, मेचिनगर नगरपालिकामा १०, कन्काई नगरपालिकामा ८, दमक नगरपालिकामा ७, बुद्धशान्ति गाउँपालिकामा ७, कमल गाउँपालिकामा ६, भद्रपुर नगरपालिकामा ४, झापा गाउँपालिकामा ३, कचनकवल गाउँपालिकामा २, अर्जुनधारा नगरपालिकामा १, गौरादह नगरपालिकामा १ र गौरीगञ्जमा गाउँपालिकामा १ गरि ८० जनामा डेंगु संक्रमण फेला परेको फोकल पर्सन दासले बताउनुभयो ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ–डेन १, डेन २, डेन ३ र डेन ४ । झापामा देखा परेको डेंगु संक्रमण डेन १ रहेको फोकल पर्सन दासले बताउनुभयो । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । यस्तै, जनस्वास्थ्य कार्यालय झापाले डेंगु परिक्षणको लागि जिल्लाका १५ वटै पालिकाको स्वास्थ्य केन्द्र र अस्पतालहरुमा निशुल्क किट उपलब्ध गराएको जनाएको छ । डेंगु नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सबै पालिकाहरुमा लार्भा नष्ट गर्ने अभियान चलाउनु पर्ने साथै वरीपरी पानि जम्न नदिने, सरसफाइमा ध्यान दिनुपर्ने फोकल पर्सन दासले बताउनुभयो ।

कार्यालयले मेची अञ्चल अस्पताल भद्रपुर, दमक अस्पताल, धुलाबारी नगर अस्पताल लगायत सबै पालिकाको नगर अस्पतालमा सो किट उपलब्ध गराइएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया